Wednesday, January 15, 2014

मूर्ति र देउता



सन्त कबीरलाई आफ्ना गुरु रामानन्दले साँझबिहान ढुंगाको पूजा गरेको चित्त बुझेको थिएन । तर चेलाले गुरुलाई केही भन्न भएन । उनी उचित मौका पर्खिरहेका थिए । 

एक दिन गुरु रामानन्दलाई तीर्थाटन जानुपर्ने भयो । उनले आफू नफर्कंदासम्म पञ्चायन देउता अर्थात् शालिग्रामको पूजा गर्ने जिम्मा कबीरलाई दिए । गुरुलाई बिदाइ गरे कबीर आश्रम भित्र पसे र खोपामा राखिएका आठदशवटा काला ढुंगालाई हेर्न थाले । पूजा थालीमा सजाइएका गोला र चिल्ला ढुंगाहरुलाई ओल्टाइपल्टाइ गरे र मुसुक्क हाँस्दै भने — यी त बडा रसिला लालमोहन जस्ता पो देखिन्छन् ! यतिञ्जेलमा उनको मनमा एउटा जुक्ति फुरिसकेको थियो । कबीरले पूजाको थालीबाट शालिग्राम हटाइदिए र त्यति नै संख्यामा लालमोहन ल्याएर त्यहाँ राखिदिए ।

केही दिनपछि गुरु रामानन्द आश्रम फर्किए र पूजा गर्न खोपामा गए । पहिला शालिग्रामलाई स्नान गरिदिनुपर्थ्यो । साबुन पानीले हल्का मिच्न थाल्दा त उनी चकित भए; थालीमा सबै देउता गलेर मिचिएका थिए । रामानन्द आजित हुँदै कराए — ए कबीर ! यो के गरेको ? 


कबीर हत्तपत्त भित्र पसे । केही थाहा नपाएजस्तो गरेर थालीमा हेर्दै भने — ए ! तपाइँ नभएको बेलामा मैले धेरै जलधारा दिएर होला देवताहरु त गल्नुभएछ ।

रामानन्दले पुर्पुरोमा हात राखेर भने — हरे शिव ! ढुंगा पनि कहिँ जलधाराले गल्छन् ?
कबीरले फ्याट्ट भने — गुरुजी ! तपाइँले त देउता भनेर पूज्नुहुन्थ्यो । आज त आफैं ढुंगा हुन् भन्नुहुन्छ; वास्तविकता त तपाइँलाई थाहै रहेछ नि ।

रामानन्द बोल्ने ठाउँ पाएनन् । सायद उनलाई थाहै थियो,

प्रवचन सुनेर ज्ञान मिल्दैन
मन्दिर गएर भगवान मिल्दैन
पत्थर त यसकारण पूज्दछन् सबै,
किनकि विश्वास गर्न लायक ‘मान्छे’ मिल्दैन ।

No comments: