Thursday, January 16, 2014

शंखेश्वर स्वामीको मृत्यु



त्यतिबेला सन्त कबीर सानै थिए । एक दिन साथीहरूसँग खेल्दै  थिए । एक साथीले अचानक कबीरलाई गिज्याउँदै भन्यो ‍‍­­— तँ त बिना बाबुको सन्तान होस् रे । तेरा बाबा आमाले तँलाई खोलाको किनारमा फेला पारेका थिए रे । यो सुनेर कबीरलाई अचम्म लाग्यो । साथीलाई जवाफ फर्काउन सकेनन् । उनी तत्काल घर फर्के र आमालाई सोधे — आामा, म तपाइँको सन्तान होइन र ? म तपाइँको पेटबाट जन्मेको होइन र ?

आमा कबीरको कुरा सुनेर चकीत भइन् । उनले कबीरलाई काखमा बोलाउँदै भनिन् — कसले भन्यो मेरो सन्तान होइन भनेर ? तिमी मेरै सन्तान हौ । मेरै पेटबाट जन्मेका हौ ।

तर कबीरले पत्याएन् । उनी आमाबाट टाढै रहेर भने — तपाइँ झूठ बोल्नुहुन्छ । साथीहरू त तपाइँले मलाई खोलाको किनारमा फेला पारेको भन्छन् । 

साथीहरूले झूठ बोल्दैछन् । तिमी मेरै पेटबाट पैदा भएका हौ । आमाले ढाडस दिँदै भनिन् ।

तर कबीर आमाको कुरामा विश्वस्त हुन सकिरहेका थिएनन् । उनले जिद्धि गरेको देखेर आमाले भनिन् — बाबु, कसैले भन्यो भन्दैमा कुनै पनि कुरालाई पत्याइहाल्नु हुँदैन । पहिला त कुराको जडसम्म पुग्नु पर्छ । तब राम्ररी परख गरेर मात्र पत्याउनु पर्छ । 

कबीरलाई आश्वस्त पार्न आमाले जुक्ति अपनाइन् । उनले भनिन् — आउ मेरो काखमा बस । 
कबीर मानेनन् । आमाले भनिन् — नत्र म कथा सुनाउँदिन । अब भने कथा सुन्ने लोभले कबीर आमाको काखमा बसे । आमाले कथा भन्न थालिन्  

एक पटक एउटा धोबीले आफ्नो गधाको नाम ‘शंखेश्वर स्वामी’ राखेको थियो । गधाको स्वभाव कस्तो थियो भने हरेक विहान डाँडाको मन्दिरमा शंख बज्न थालेपछि गधा अचम्मसँग हिनहिनाउने गथ्र्यो । धोबीले सोच्यो सायद पूर्व जन्ममा यो गधा कुनै साधु—महात्मा हुँदो हो । धोबीले गधालाई शंखेश्वर स्वामी भनेर बोलाउन थाल्यो । हुँदाहुँदा गधा यही नामले प्रख्यात भयो । एक दिन कालगतिले गधा मर्यो । गधाप्रति एक खालको लगाव भइसकेकोले होला सायद, धोबीले रुँदै कराउँदै दाढी—कपाल खौरियो र रुन थाल्यो । बटुवाहरूले सोध्दा उसले शंखेश्वर स्वामीको मृत्यु भयो भन्यो । हो न हो शंखेश्वर स्वामी ठूलै महात्मा हुँदा हुन् भन्ठानेर बटुवाहरूले पनि श्रद्धावश शिर मुडाए र रुन थाले । कतिपय गाउँलेहरूले समेत त्यसै गरे । 

कान दो कान हुँदै खबर राजाको दरबारमा पनि पुग्यो । शंखेश्वर स्वामी मरे भन्ने सुनेर राजाले पनि शोक मनाउने र शिर मुडाउने तयारी गर्न थाले । रानी बडो बुद्धिमति थिइन् । उनले राजालाई सुझाइन् — कुनै कुरालाई विश्वास गरिहाल्नु पहिला त्यसको सत्यता बुझ्नु उपयुक्त हुन्छ, विषयवस्तुको जडसम्म पुग्नु हितकर हुन्छ । अतः शिर मुडाइहाल्नु पहिला शंखेश्वर स्वामी को थिए भन्ने पत्तो गर्नुहोस् । ‘हो, ठीक भन्यौ’ भन्दै राजाले तत्क्षण भारदारहरूलाई शंखेश्वर स्वामी को थिए, कहाँका निवासी थिए पत्तो लगाउन पठाए । भारदारहरू सोध्दै खोज्दै धोबीको घाटसम्म आइपुगे र ऊसँग शंखेश्वर स्वामी को थिए भनेर सोधे । धोबीले भन्यो — शंखेश्वर स्वामी त गधा थिए जसले दश वर्ष मेरो सेवा गरे । 

शंखेश्वर स्वामीको असलियत थाहा पाएपछि राजाले भने — ‘धत्तेरी !’ धन्न घटनाको मूलसम्म पुग्नाले ठुलै गलफतबाट बचियो । गहिराइसम्म खोजबीन गरेर यथार्थ पत्तोलगाउनु बुद्धिमत्ताको परिचायक हो । कथाका राजालाई आफ्नी रानीको बुद्धिमानीप्रति गर्व भयो । उनले रानीको प्रशंसा गर्दै भने, ‘तिमीजस्ती बुझ्झकी रानी पाएर हामीलाई बडा सन्तोष भएको छ । तिमीसँग जीवन बिताउनुको मजै बेग्लै ।’

रानी मुसुक्क हाँसिन् र भनिन्, ‘मलाई धेरै फुक्र्याउन पर्दैन । कसैको प्रशंसामा समय खेर फाल्नुभन्दा बरु उसका गुणहरूलाई आफ्नो जीवनमा अपनाउने चेष्टा गर्नु अधिक बुद्धिमानी हो ।’ रानीको सुझबुझ देखेर राजा फेरि पनि नतमस्तक भए । 

Wednesday, January 15, 2014

चिन्ताको औषधि



सन्त कबीर भन्छन् --

चिन्ता ऐसी डाकिनी काटी कलेजा खाए ।
वैद्य वेचारा क्या करे कहाँ तक दवा लगाए ।


चिन्ता यस्ती डंकिनी हो जसले कलेजो कुटुकुटु खाइरहन्छे । चिन्ताले कलेजो खान थालेपछि वैद्य पनि निरुपाय हुन्छ, विचरा वैद्यले कहाँ तक औषधि लगाओस् ।

सन्त कबीरको प्रवचन


सन्त कबीरले एक पटक एउटा विशेष प्रवचन दिँदै थिए । एउटा उर्दी जारी गरिएको थियो ᅳ प्रवचनमा यस्तो उपाय बताइने छ जसको प्रयोग गर्दा खाने बेला थालमा झिंगा बस्नेछैन । कबीरले यो प्रवचन सुन्न आउनेले रु. पाँचको टिकट काट्नु पर्ने नियम लगाएका थिए । मानिसहरू अचम्म मान्दै थिए । प्रवचन सधैं निशुल्क हुन्थ्यो । यसपालि उनीहरूलाई टिकट किन्न भनिएको थियो । गर्मीको बेला जति सरसफाइ गरे पनि थालमा झिंगा बसेर हैरान पाथ्र्यो । पक्कै कबीरले कुनै अनौठो उपाय बताउँछन् होला भन्ठानेर सबैले टिकट किने । प्रवचन शुरु भयो । कबीरले सधैंजस्तै साम्प्रदायिकता होइन, सेवा नै धर्म हो भन्ने विषयमा बोले र प्रवचन टुंग्याए ।

मानिसहरू कतिखेर कबीरले थालमा झिंगा नबस्ने उपाय बताउलान् भनेर पर्खिरहेका थिए । कुनै उपाय नबताई प्रवचन सकिएको हुँदा श्रोताहरूबीच होहल्ला हुन थाल्यो । श्रोताहरू उपाय के होभनेर कराए ।

कबीरले सबैलाई शान्त रहन आग्रह गरे र भने, ‘उपाय अत्यन्त सजिलो छ, खाने बेलामा देब्र्रे हातले झिंगा धपाउनुहोला । थालमा झिंगा बस्नै पाउँदैन ।

अरे, त्यो त कुनै नयाँ कुरा भएन, धपाएपछि थालमा झिंगा बस्दैन भन्ने त हामीलाई पनि थाहा छ नि, यत्ति भन्नलाई पाँच रूपैयाँको टिकट भिडाउनु सुहाउने कुरा होइनमानिसहरू हल्ला गर्न थाले ।

कबीरले भने, ‘तपाईंहरूलाई यो उपाय थाहा छ भन्ने मैले पनि बुझेको छु । तर तपाईंहरूले त्यति सजिलो उपाय गरिराख्नुभएको छैन । टिकट किनाएको केवल तपाईंहरू आफूले जानेको कुरा गर्नुहोस् भन्नलाई हो । सेवा नै धर्म हो भन्ने तपाईंहरूले जान्नुभएको छ, यही कुरा प्रवचनमा सुन्न आउन आवश्यक छैन । यथाशक्य सेवाको भावनाले काम गर्न थाल्नुहोला । मैले भन्न खोजेको यत्ति हो ।’ 

मूर्ति र देउता



सन्त कबीरलाई आफ्ना गुरु रामानन्दले साँझबिहान ढुंगाको पूजा गरेको चित्त बुझेको थिएन । तर चेलाले गुरुलाई केही भन्न भएन । उनी उचित मौका पर्खिरहेका थिए । 

एक दिन गुरु रामानन्दलाई तीर्थाटन जानुपर्ने भयो । उनले आफू नफर्कंदासम्म पञ्चायन देउता अर्थात् शालिग्रामको पूजा गर्ने जिम्मा कबीरलाई दिए । गुरुलाई बिदाइ गरे कबीर आश्रम भित्र पसे र खोपामा राखिएका आठदशवटा काला ढुंगालाई हेर्न थाले । पूजा थालीमा सजाइएका गोला र चिल्ला ढुंगाहरुलाई ओल्टाइपल्टाइ गरे र मुसुक्क हाँस्दै भने — यी त बडा रसिला लालमोहन जस्ता पो देखिन्छन् ! यतिञ्जेलमा उनको मनमा एउटा जुक्ति फुरिसकेको थियो । कबीरले पूजाको थालीबाट शालिग्राम हटाइदिए र त्यति नै संख्यामा लालमोहन ल्याएर त्यहाँ राखिदिए ।

केही दिनपछि गुरु रामानन्द आश्रम फर्किए र पूजा गर्न खोपामा गए । पहिला शालिग्रामलाई स्नान गरिदिनुपर्थ्यो । साबुन पानीले हल्का मिच्न थाल्दा त उनी चकित भए; थालीमा सबै देउता गलेर मिचिएका थिए । रामानन्द आजित हुँदै कराए — ए कबीर ! यो के गरेको ? 


कबीर हत्तपत्त भित्र पसे । केही थाहा नपाएजस्तो गरेर थालीमा हेर्दै भने — ए ! तपाइँ नभएको बेलामा मैले धेरै जलधारा दिएर होला देवताहरु त गल्नुभएछ ।

रामानन्दले पुर्पुरोमा हात राखेर भने — हरे शिव ! ढुंगा पनि कहिँ जलधाराले गल्छन् ?
कबीरले फ्याट्ट भने — गुरुजी ! तपाइँले त देउता भनेर पूज्नुहुन्थ्यो । आज त आफैं ढुंगा हुन् भन्नुहुन्छ; वास्तविकता त तपाइँलाई थाहै रहेछ नि ।

रामानन्द बोल्ने ठाउँ पाएनन् । सायद उनलाई थाहै थियो,

प्रवचन सुनेर ज्ञान मिल्दैन
मन्दिर गएर भगवान मिल्दैन
पत्थर त यसकारण पूज्दछन् सबै,
किनकि विश्वास गर्न लायक ‘मान्छे’ मिल्दैन ।

Tuesday, January 14, 2014

मनमा उज्यालो छाएपछि



एक अचम्भा हमने देखा 
कुए में लागी आग । 
कीचड कादो सब जल गये 
माछी खेले फाग ।। 

सन्त कबीर भन्नुहुन्छ -- अज्ञानको अन्धकार भरिएको हृदयमा जब विवेक ज्ञानरूपी आगो लाग्यो, मनको मलीनता रूपी हिलोमैलो सबै जलेर नष्ट भयो, आत्मज्ञान रूपी माछाहरू फागू खेल्दै रमाउन थाले ।